काठमाडौँ, असोज १ गते। आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको सन्दर्भ पारेर ‘वास्तुविज्ञान डटकम’ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वास्तु अनुगमन गरेको छ । नेपाली जनतालाई स्वस्थ राख्ने जिम्मेवारी यसै मन्त्रालयको हो । यसलाई जनस्वास्थ्य जस्तो चुनौतीपूर्ण क्षेत्रको जिम्मेवारी छ ।
वास्तु विज्ञानको अनुगमन टोलीले प्रशासनिक वास्तुका आधारमा मन्त्रालयको मुख्य मुख्य स्थानलाई प्राथमिकतामा राखेर प्रारम्भिक अनुगमन गरेको छ । अनुगमन टोलीका अनुसार मन्त्रालयको समग्र निर्माण प्रक्रियाको नक्साङ्कन प्राप्त भएको छैन । प्रारम्भिक अनुगमनमा मन्त्रालयको मूलप्रवेश, भित्री मुख्य प्रवेश, मन्त्रीको कार्यकक्षको अवस्था, सचिवहरूको कार्यकक्ष, शौचालयहरूको अवस्थालगायतलाई प्राथमिकतामा राखी वास्तुदोष भए–नभएको परीक्षण गरेको छ । त्यसैगरी मन्त्रालय भवनको अवस्था, त्यहाँ प्रयोग भएको रङ, पानी, फोहोर पानी तथा ढलको निकास, सिँढीहरूको स्थान, भवनको ब्रह्मस्थान, बैठक कक्ष, मन्त्री–सचिव–विभागीय प्रमुखहरूको बसाइ तथा दिशाको अध्ययन गरेको छ ।
मन्त्रालय पूर्वाभिमुख रहेकाले मुख्य प्रवेशलाई सकारात्मक मान्न सकिए पनि मन्त्रीको कार्यकक्ष दक्षिणपूर्वमा छ । सामान्यतः दक्षिणपूर्वका प्रमुखहरू क्षणिक ऊर्जावान् देखिए पनि दिगो नहुने गरेको पाइन्छ । मन्त्रालयको शौचालयको अवस्था सकारात्मक नदेखिएकाले कर्मचारीमा उत्साह र उमङ्ग न्यून देखापर्छ । शौचालयले नै मन्त्रालयको प्रमुख वास्तुदोष उत्पन्न गरेको छ ।
बाहिरी प्रवेश र भित्री प्रवेशको प्रत्यक्ष अर्थात् आमनेसामने हुनु पनि वास्तुशास्त्रले सकारात्मक मान्दैन । मन्त्रीको कार्यकक्ष भवनको आग्नेय क्षेत्रमा छ । यस क्षेत्रले ऊर्जावान् बनाए पनि समग्र मन्त्रालयभित्र वर्चस्व कायम राख्न सहयोग गर्दैन ।
सचिवको कार्यकक्ष पनि पूर्वीभागमै छ । वास्तु सिद्धान्तअनुसार प्रशासन चलाउने उच्च कर्मचारीको अवस्थालाई मन्त्रालयमा ख्याल राखिएको छैन । अतिरिक्त सचिवको कार्यकक्ष भने पश्चिमी भागमा छ । यसले त्यहाँको जिम्मेवारी पाउने अतिरिक्त सचिव अन्यभन्दा प्रभावशाली रहेको पाइन्छ । यसको प्रभाव मन्त्रालयले भोग्दै आएको छ । विगतदेखि नै केही सचिवहरू अनावश्यक विवादमा पर्नाको महत्त्वपूर्ण कारक मन्त्रालयको वास्तुदोष भएको ‘वास्तुविज्ञान डटकम’ को निष्कर्ष छ । पूर्वी इशान क्षेत्रका शौचालयका कारण उच्चपदस्थ कर्मचारीमा समन्वय र सहयोगको वातावरण कम हुन्छ ।
सामान्यतया वास्तुशास्त्रले निर्माणमा मात्र जोड दिँदैन । यसले निर्माण गरिएका भवनको साजसज्जा, कर्मचारीको कार्यक्षेत्रका आधारमा दिशाहरूको चयन, टेबल र कुर्सीको अवस्था, विद्युतीय उपकरण, रङरोगनलगायतलाई विशेष ख्याल राख्न सिफारिस गर्छ । भवनको ऊर्जालाई पञ्चतत्त्वको सन्तुलनले व्यवस्थित गरिनुपर्छ जसबाट कार्यालयको वातावरण अनुकूल भई कर्मचारीबिचमा मित्रवत् र सद्भाव कायम राख्न मद्दत गर्छ र लक्षित लाभ प्राप्त सहज हुन्छ ।
मन्त्रालय मुख्यप्रवेश नजिक अनावश्यक पार्किङ या अन्य सामान राखिनु राम्रो मानिँदैन । भवनको ब्रह्मस्थान सकेसम्म खाली होस् भन्नेमा ध्यान दिनुपर्छ । भूमिगत जलस्रोत वा पानीका लागि पूर्वी दिशा शुभ मानिए पनि स्वास्थ्य मन्त्रालयको पूर्वी भागमा प्रायःजसो ढलको फोहोर पानी जमेको पाइन्छ जसले वास्तुदोष सिर्जना गरेको छ । मन्त्रालयको पूर्वी भागको सडक अग्लो भइसकेकाले मन्त्रालयमा पूर्वी ऊर्जा जति सकारात्मक हुनुपर्ने हो नभई कमजोर छ । वास्तु सिद्धान्तअनुसार मन्त्री, सचिव, सहसचिव तथा विभागीय प्रमुख एवं निर्देशकहरू कार्यालयको दक्षिणपश्चिम दिशामा पूर्वाभिमुख भएर व्यवस्थित गरिनुपर्छ तर सो मन्त्रालयमा मन्त्री तथा सचिवको कार्यकक्ष पूर्वीभागमा छ । इशानको शौचालयपूर्वको कार्यकक्ष यी पक्ष वास्तुदोषको उपज हो । चमेना गृहलाई पूर्वदक्षिण वा उत्तर–पश्चिम दिशामा, सिँढीलाई दक्षिण, पश्चिम वा दक्षिणपश्चिम दिशामा र मन्दिर या पूजा कोठा पूर्वाेत्तर दिशामा व्यवस्थित गरिनुपर्छ ।
राजा महेन्द्रका पालामा विदेशबाट वास्तुशास्त्री ल्याएर बनाएको भनिएको सो मन्त्रालयले वास्तुविज्ञानको मान्यतालाई व्यावहारिक प्रयोगमा ल्याउँदा परिणाम सकारात्मक आउने छ । सरकारले आफ्नो कार्यक्षमतामा सकारात्मकता ल्याउन वास्तुविज्ञानको सिद्धान्तलाई अपनाउनु अनिवार्य छ । सरकारले आफ्ना मातहतका कार्यालयलाई वास्तुविज्ञानका सिद्धान्तअनुरूप परिमार्जन गर्नु जाती हुने छ ।
(लेखकको यो निजी विचार हो)