पाँचथर, भदौ ३० गते । शैक्षिक गुणस्तर सुधारमा सघाउ पु¥याउने उद्देश्यले पाँचथरको हिलिहाङ–२ को एक परिवारले स्थानीय विद्यालयमा पाँच लाख ५५ हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरेको छ । हिलिहाङ–२ सिंहपुरमा रहेको सिंहपुर पशुपति माध्यमिक विद्यालयमा उक्त अक्षय कोष स्थापना गरिएको हो ।

विद्यालयको स्थापनादेखि सञ्चालनमा सहयोग गर्दै आउनुभएका स्थानीय वयोवृद्ध हरिप्रसाद गौतम र लीलादेवी गौतमको परिवारले आइतबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषमा रहने रकम विद्यालयका प्रधानाध्यापक भीमकुमारी भण्डारी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद हेम्ब्यालाई हस्तान्तरण गर्नुभयो ।

हरिप्रसाद र लीलादेवी संस्थापक रहनुभएको अक्षयकोषमा छोराबुहारीहरू जीवनप्रसाद र नारायणी गौतम, राजेन्द्रप्रसाद र पुण्यमाता गौतम, सूर्यप्रसाद र कौशिला गौतम, केशवप्रसाद र भीमकुमारी गौतम तथा भोला र गंगा गौतम एवं छोरीज्वाइ मैयादेवी र राधाकृष्ण भट्टराई संरक्षक रहनुभएको छ । गौतम परिवारले अक्षयकोष सञ्चालनका लागि कार्यविधि तयार पारी बैङ्क खातामार्फत उत्कृष्ट विद्यार्थी र शिक्षकलाई वर्षेनि प्रोत्साहन दिने योजना बनाएको संरक्षक सूर्यप्रसाद गौतमले वताउनुभयो ।

अक्षयकोषको ब्याजबाट उक्त विद्यालयको कक्षा १, २, ३, ४, ५, ६, ७ र ९ मा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थी तथा विद्यालय र अभिभावकले छनोट गरेका एक जना शिक्षकलाई पुरस्कृत गर्ने व्यवस्था गरिएको गौतमले बताउनुभयो । विद्यालयमा पूर्वाधारका धेरै संरचना निर्माण भइसकेकाले अव शैक्षिक गुणस्तर सुधारमा जोड दिनुपर्ने आवश्यकता देखेर आफूहरूले अक्षयकोष स्थापना गरेको उहाँको भनाइ छ । गौतम परिवारले ८३ वर्षीय बावुआमा जिवित छँदै उहाँहरूका नाममा अक्षयकोष स्थापना गरी अक्षयकोष दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना बनाएका हुन् । 

“आफ्ना पूर्वजहरूका नाममा संरचना निर्माण गर्ने परम्परा रहेपनि त्यसको उपयोगिता कमजोर भएका कारण अक्षयकोष स्थापनाले समाजलाई हित हुने ठानेर अक्षयकोष स्थापना गरेका हौँ”, उहाँले भन्नुभयो । अक्षय कोषका संरक्षकमध्ये सूर्यप्रसाद स्रोत व्यक्ति हुँदै हाल याङवरक गाउँपालिकाको शिक्षा शाखामा कार्यरत हुनुहुन्छ भने केशवप्रसाद र भोला शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । 

सोही अवसरमा स्थानीय समाजसेवी व्यक्तित्व हेलनप्रकाश न्यौपानेको स्मृतिका उहाँका श्रीमती गीतादेवी न्यौपानेको परिवारले उक्त विद्यालयमा अर्को अक्षयकोष स्थापना गर्नुभएको छ । गत वर्ष दिवङ्गत हुनुभएका न्यौपानेको स्मृतिमा परिवारजनले रु एक लाख एक हजार एक सय ११ रकमको अक्षयकोष स्थापना गरेका हुन् । 

विद्यालयमा विगतदेखि नै स–सानो रकमका अक्षयकोषहरू रहेको भएपनि गौतम र न्यौपाने परिवारले ठूलो धनराशि अक्षय कोषमा राखेर शैक्षिक गुणस्तर सुधार गर्न तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने प्रेरणा प्रदान गरेको प्रधानाध्यापक भीमकुमारी भण्डारीले बताउनुभयो । सो अवसरमा अक्षय कोष स्थापना गर्ने दुवै परिवारलाई विद्यालयले सम्मान गरेको थियो ।

अक्षयकोष स्थापना कार्यक्रममा साक्षीका रुपमा रहनुभएका हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले अक्षय कोषका संस्थापकलाई धन्यवाद दिँदै शिक्षा क्षेत्रको विकासमा स्थानीयवासी र सरोकारवाला जागरुक बन्नुपर्ने बताउनुभयो । सरकार र विद्यालय एक्लैले शिक्षा क्षेत्रको रुपान्तरणमा सबै काम गर्न नसक्ने भन्दै अध्यक्ष अधिकारीले गुणस्तरीय शिक्षाको खोजीमा बसाइँ सर्ने क्रम रोक्न पनि समुदाय स्तरबाटै शैक्षिक गुणस्तर सुधारमा विद्यालयलाई मद्दत र निगरानी गर्नु आवश्यक रहेको बताउनुभयो । करिब चार सय ५० जना विद्यार्थी अध्ययरत यस विद्यालयमा सीमान्तकृत माझी समुदायका बालबालिका अध्ययनरत रहेका छन् ।