साङ्केतिक तस्वीर
सप्तरी, भदौ ३० गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६६ नं. का माइक्रोबसले सडक छेउमा उभिरहेकी एक महिला र एक बालकलाई ठक्करदिंदा बालकको मृत्युभएको हो ।

बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने ५० वर्षीय श्रीमती अनितादेवि अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट गम्भीर घाइते भएका आदर्शको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेका अनुसार माइक्रोबसको ठक्करबाट घाइते हुनुभएकी अनितादेवी अधिकारीको टाउको, छाति, बायाँ खुट्टालगायतका भागमा चोट लागेको र उहाँको उपचार भइरहेको छ ।

प्रहरीले चालक सप्तरी छिनमस्ता गाउँपालिका ७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरोध गरेका छन् ।