फाइल तस्वीर
काठमाडौँ, भदौ ३० गते ।
पहेंलो धातु सुनको मूल्य अनपेक्षित रुपबाट बढेर आज नयाँ रेकर्ड बनाएको छ । दुई दिन अघि शुक्रबारको तुलनामा आज आइतबार प्रतितोलामा पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोवार भएको जनाएको छ । अस्ति शुक्रबार प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यसैगरी चाँदीको पनि मूल्य बढेको छ । आज नेपाली बजारमा चाँदीको प्रतितोला ४० रुपैयाँले वृद्धिभई एक हजार नौ सय रुपैयाँ तोकिएको छ । । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा कारोवार भएको महासङ्घले जनाएको छ ।

नेपालमा सुनको मूल्य दैनिक रुपमा वृद्धि हुनुको कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढ्नुको कारण रहेको महासङ्घको भनाइ छ । भअमेरिकाकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बैंकले ब्याजदर घटाउने चर्चाले लगानीकर्ता सुनप्रति आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको विदेशी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।