फाइल तस्वीर ।
काठमाडौँ, भदौ ३० गते ।
काठमाडौँ उपत्यकामा इन्द्रजात्रा पर्व सुरु भएको छ । हनुमानढोकास्थित दरबार स्क्वायरमा आज आइतबार बिहान इन्द्रध्वाज उत्थान गरेसँगै औपचारिक रूपमा इन्द्रजात्रा सुरु भएको हो ।

उपत्यकामा हरेक वर्ष मनाइने इन्द्रजात्रा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाइन्छ । इन्द्रजात्राको पहिलो दिन सडकको दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहिआएको छ । इन्द्रका छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि आमा वसुन्धरा डाकिनीको भेषधारण गरी पृथ्वी आइन् र सित र हुस्सुले वातावरणलाई छोपेर कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याइएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात पुलुकिसी जात्रा मनाउने प्रचलन छ ।

इन्द्रजात्रा पर्वलाई काठमाडौँमा मनाइने विभिन्न जात्रामध्येको सबैभन्दा ठुलो र महत्त्वपूर्ण जात्राको रूपमा लिइन्छ ।