काठमाडौँ, भदौ ३० गते । नेपालीहरूको महान् चाड दशैंको मुखमा बजारमा कालोबजारी मौलाइरहेको र आम जनता महँगी र मूल्यवृद्धिबाट आजित भइरहेको अवस्थामा कालोबजारी रोक्न र जनतालाई राहत दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूले दशैं केन्द्रित एक्सन प्लान बनाउनुपर्ने भएको छ ।

सरकारका तर्फबाट मुख्य सचिव एकनारायण अर्यालले कालोबजारी रोक्न र बजार आपूर्ति सहज र सुलभ बनाउने गरी देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई आवश्यक निर्देशन दिनुभएको हो ।

हाल काठमाडौं, ललितपुर र भक्तपुरमा दैनिक उपभोग्यका वस्तु तथा तरकारीहरूमा कालोबजारी अत्यधिक भइरहेको छ भने सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी विभिन्न खाद्य वस्तुमा मिसावट गर्ने क्रमसमेत बढेको छ। यसै गरी म्याद सकिएका वस्तुहरूमा रिलेबलिङ गरेर पुनः बिक्री वितरण गर्ने कार्यसमेत भइरहेको बताइएको छ ।

यस्तो अवस्थामा बजारमा सुशासन कायम गरी अराजकता रोक्ने उद्देश्यले तराई विकास तथा सञ्चार केन्द्र नेपालले शुक्रवार मुख्य सचिवलगायत काठमाडौं, ललितपुर र भक्तपुरका सबै प्रमुख जिल्ला अधिकारीहरू तथा बजार नियमन गर्ने सरकारका सबै निकायका प्रमुखहरूलाई एकै ठाउँमा राखेर कालोबजारी रोक्न आवश्यक दबाब सिर्जना गरेको छ ।

सो कार्यक्रममा मुख्य सचिव अर्यालले काठमाडौं, ललितपुर र भक्तपुरलगायतका ७७ वटै जिल्लाका प्रमुख जिल्लाअधिकारीलाई कालोबजारी रोक्न तत्काल एक्सन प्लान बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। साथै, मुख्य सचिव अर्यालले दशैं नजिकिँदै गर्दा यातायात व्यवसायीहरूले पनि घटस्थापनाको १५ दिनअघि नै सर्वसाधारणका लागि टिकटको व्यवस्था गर्र्नुपर्ने र यसका लागि सरकारले आवश्यक पहल गरिरहेको बताउनुभयो।

दशैंको समयमा सडकका खाल्टाखुल्टी पुर्न र पहिरो आएको खण्डमा तत्काल हटाएर यातायात आपूर्ति चालू गरी सर्वसाधारणलाई यात्रा सहज बनाउनसमेत मुख्य सचिव अर्यालले भौतिक मन्त्रालयका सचिव तथा सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो।

मुख्य सचिव अर्यालले कालोबजारी गर्ने, अस्वाभाविक मूल्यवद्धि गर्ने र आम सर्वसाधारणलाई सताउनेहरू जोसुकै भए पनि थुनेर कारबाही गर्नसमेत प्रमुख जिल्ला अधिकारीहरूलाई कडा निर्देशन दिनुभयो।

‘जनतालाई सेवा दिन हामी आएको हौं, जनताको दुःखकष्टलाई नजिकबाट बुझेर समाधान गर्न हामी आएका हौं, त्यसैले हामी कर्मचारीले आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ र जनतालाई दुःख दिनेमाथि कठोर बन्नै पर्छ’ –मुख्य सचिव अर्यालले उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरूतर्फ संकेत गर्दै भन्नुभयो । ‘जनता पीडित भएको बेला भाडा बढाउने, मूल्यवृद्धि गर्ने, कार्टेलिङ गर्ने काम सह्य हुँदैन’ –उहाँले भन्नुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण वज्राचार्यले काठमाडौं उपत्यकामा कालोबजारी रोक्न तथा ठगहरूलाई पक्राउ गर्न साधा पोशाकका प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले दशैंका समयमा उपत्यकामा विभिन्न खाले लुटपाट, ठगीजस्ता क्रियाकलाप हुने गरेको र त्यसलाई रोक्न प्रहरी परिचालन गरिएको बताउनुभयो।

सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द चौलागाईं, नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी, वाणिज्य विभागका महानिर्देशक राजन पौडेल, उपभोक्ता हित संरक्षण मञ्चकी उपमहासचिव कुमारी खरेललगायतले बजारमा देखिएका समस्या र त्यसका लागि भएका कार्यहरूको बारेमा जानकारी दिएका थिए । (आजको नेपाल समाचारपत्र दैनिकबाट)