मोरङ, भदौ २९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवा भावले कार्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६०औँ बाल दिवसका उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा उहाँले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका विकृति, विसङ्गति, लागुपदार्थ दुव्र्यसनी रोकथाम तथा कुप्रथा अन्त्यका लागि जागरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले समाजलाई सुसंस्कृत बनाउन स्काउटका स्यवंसेवकहरूलाई आग्रह गर्नुहुँदै स्काउटको विस्तार र विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा आउने प्राकृतिक विपद्, आगलागीलगायत घटनाका समयमा जनधनको संरक्षण गर्न योगदान पु¥याउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले सामाजिक विकास मन्त्रालयलाई विद्यालय वरिपरि धुम्रपान, मदिराको बिक्री वितरण रोक्न आवश्यक अनुगमनका लागि निर्देशनसमेत दिनुभयो । सरकारले दुई÷तीन वर्षभित्र नमूना प्रदेश बनाउन उद्योग र कृषि उत्पादनमा वृद्धि तथा निर्यात प्रवर्द्धनका लागि नीति तथा कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो ।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मन, वचन र कर्मले राष्ट्र निर्माणमा जुट्न आग्रह गर्नुहुँदै विद्यालयको शैक्षिक वातावरण राम्रो बनाउन आवश्यक योजनाका साथ अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा स्काउटका बालबालिकाले मुख्यमन्त्री कार्कीलाई विभिन्न प्रश्न सोधेका थिए । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका स्काउटमा आबद्ध बालबालिकाको सहभागिता रहेको थियो ।