फाइल तस्वीर
तनहुँ, भदौ २७ गते । जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट एउटा खानेपानी आयोजना सम्पन्न भएको हो ।

उक्त आयोजनाबाट ६४ परिवार प्रत्यक्ष लाभान्वित भएका बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेशले खहरे गाउँपाखोमा रु ६० लाख, खहरे थुमथुमेमा रु नौ लाख र सङ्घीय सरकारले रु १० लाखमा खहरे झपार्दी खानेपानी आयोजनामार्फत एक घर, एक धारा जडान गरेको हो । 

गत आर्थिक वर्षको अन्त्यभित्र योजना सम्पन्न गरी घरघरमा पानी पु¥याइएको खहरे गाउँपाखो खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार योजना सम्पन्न पश्चात् वर्षैँदेखि पाँखाको तातो, नमिठो र चुनायुक्त पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

“चुनाका कारण कतिपय अवस्थामा पानीको पाइप जाम हुने समस्या खेप्नुपरेको थियो”, अध्यक्ष गुरुङले भन्नुभयो, “करिब दुई महिनाको अवधिमा आयोजना सम्पन्न गरी पानी नियमित सञ्चालन गरेका छौँ ।” तीनमध्ये ठूलो आयोजनाका रुपमा रहेको खहरे गाउँपाखोका लागि छिमेकी देवघाट–३ नाल्बुङबाट पानी ल्याएर वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका वडाबासीले स्वच्छ पानी पिउन पाउँदा खुशी व्यक्त गरेका छन् । अहिले घरघरमा धारा जडान गरेपछि गाग्री बोकेर पानी लिन जानुपर्ने समस्या हटेको झपार्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर थापाले बताउनुभयो । रासस