प्रतिकात्मक तस्वीर
दमौली, भदौ २६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ९१ प २४५७ नम्बरको मोटरसाइकल ठक्किँदा मोटरसाइकल चालक आँबुखैरेनी गाउँपालिका–२ बस्ने २८ वर्षीय आस्विन सुनारको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते सुनारलाई तत्काल आँबुखैरेनी अस्पताल लगिएकामा २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
प्रहरीले बस चालक लमजुङको सुन्दरबजार नगरपालिका–८ बस्ने २८ वर्षीय दीप भुजेललाई नियन्त्रणमा लिएको छ । यसैगरी बसको पछाडिपट्टि बि ४६५० नम्बरको कार ठोक्किएको थियो ।
पुलबाट बस खस्दा ११ घाइते
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित गाउँपालिकाको कार्यालय अगाडिको पुलबाट आज बस खस्दा ११ जना घाइते भएका छन् ।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । वडा नम्बर ३ र २ जोड्ने खहरेखोलामा निर्माण गरिएको पुलको बीच भागमा ग्याप रहेको र सोही ग्यापबाट बस खसेको हो । घाइतेहरू सबैलाई आँबुखैरेनी अस्पताल पु¥याइएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यस ठाउँमा नयाँ र पुरानो दुई वटा पुल छन् । बीचमा ग्याप छ । बस चालक झुक्किएर ग्यापबाट बस खसेको देखिन्छ ।”