काठमाडौँ, भदौ २५ गते । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘एजुकेशन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ सञ्चालनका लागि बनाउन लागिएको भवन निर्माणको ताकेता भइरहेको बताउनुभएको छ । उहाँले झापा–३ भद्रपुरस्थित विद्यालयस्तरीय शैक्षिक सूचना व्यस्थापन प्रणालीका लागि तयार गर्न लागिएको भवन निर्माणकार्यलाई चाँडो सम्पन्न गर्न मन्त्रालयले ताकेता गरिरहेको बताउनुभएको हो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भट्टराईले निर्माण अलपत्र रहेको ३२ कोठे भवनको हालसम्म ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । उक्त विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्मका कक्षा सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

 शिक्षामन्त्री भट्टराईले उक्त भवनको पहिलो तला निर्माण सकिएर कक्षा सञ्चालन भइरहेको बताउनुभयो । सो विद्यालयको भवन निर्माण भारतीय राजदूतावासमार्फत हुने मन्त्रालयलाई जानकारी प्राप्त भएको बताउनुभयो । 

विसं २०७१ मा निर्माण सुरु भएको उक्त भवन भूकम्पका कारण रोकिएको थियो । पछि ठेकेदार कम्पनीले निर्माणको म्याद थप्न आग्रह गरे पनि नथपिएको जनाइएको छ । रु तीन करोड ४६ लाख लागतको उक्त भवनमा दुई करोड बढी खर्च भइरहेको छ ।

शिक्षामन्त्री भट्टराईले भारतीय दूतावासमार्फत हुने विद्यालय भवन सोझै सम्झौता हुने गरेको मन्त्रालयलाई विवरण प्राप्त भएको बताउनुभयो ।