लण्डन, भदौ २३ गते । बेलायती ट्रेड युनियनहरूले आइतबार ब्राइटनमा आफ्नो वार्षिक बैठकको आयोजना गर्दै नयाँ लेबर सरकारलाई सार्वजनिक सेवाहरू सुधार गर्न र काम गर्ने अवस्थामा सुधार गर्न माग गरेका छन् । इङ्ल्यान्ड र वेल्सका ट्रेड युनियनहरूको ठूलो हिस्साको प्रतिनिधित्व गर्ने आयोजक संस्था ट्रेड युनियन काङ्ग्रेस (टीयूसी) ले आयोजना गरेको यो सम्मेलन बुधबारसम्म चल्नेछ ।

“झण्डै १५ वर्षपछि लेबर पार्टीको सरकारको नेतृत्वमा ट्रेड युनियनसँगको यो पहिलो सहकार्य हो र यो श्रमिकका लागि ठूलो उपलब्धी हो,” टीयूसीका प्रवक्ताले एएफपीसँग भन्नुभयो । “पूरै १४ वर्षको अस्तव्यस्ततापछि हामी र सरकारबीच मिलेर अघि बढ्ने सहमति भएको छ,” उहाँले भन्नुभयो ।

लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध छ र सङ्गठनहरूले पार्टीको आयमा ठूलो योगदान पुर्याउँछ । मङ्गलबारको सम्मेलनमा एक सरकारी व्यक्तित्वले बोल्ने तयारी गरिएको छ । युनियनका कतिपय नेताहरूले प्रधानमन्त्री केइर स्टार्मरले नै सम्मेलनलाई सम्बोधन गर्नसक्ने बताएका छन् तर युनियनले यसको आधिकारिकरूपमा पुष्टि गरेको छैन ।

टीयूसीले नयाँ सरकारलाई ‘सार्वजनिक सेवाहरू ठीक गर्न दीर्घकालीन योजना’ प्रदान गर्न आह्वान गरेको छ भने सरकारले पनि युनियनसम्बद्ध कर्मचारीहरूलाई आकर्षित गर्न र आफ्नो पक्षमा उभ्याउन प्रयासरत रहेको छ । हालका वर्षहरूमा कर्मचारीको तलब वृद्धि भएको छैन र कामको बोझ थपिएको छ ।

कन्जरभेटिभ पार्टीको १४ वर्षको शासनपछि सत्तामा आएको लेबर पार्टीले फ्रन्टलाइन सेवामा मुद्रास्फीतिभन्दा माथिको ज्याला वृद्धिको सुनिश्चितता गरिसकेको छ । पछिल्ला केही वर्षहरूमा रेलदेखि स्वास्थ्य क्षेत्रसम्मका धेरै सेवाले हडतालको शृङ्खलाको सामना गरेका छन् । टीयूसीले सहमतिलाई ‘पहिलो र महत्वपूर्ण कदम’ भनेको छ ।

यद्यपि, टीयूसीले विगत १४ वर्षमा निजामती कर्मचारीहरूको क्रयशक्तिमा आएको गिरावटको लागि पूर्ण रूपमा सरकारले क्षतिपूर्ति दिओस् भन्ने चाहेको छ । हालसालै नियुक्त चान्सलर रचेल रिभ्सले सार्वजनिक वित्तमाथि ‘कडा अनुशासन’ को वाचा गरे पनि ट्रेड युनियनहरूले लेबर पार्टीमाथि दबाब सिर्जना गर्न सक्छन् । लेबर पार्टीले आफ्नो चुनावी घोषणापत्रमा ‘फायर एन्ड रिहायर’ जस्ता अभ्यासलाई कानुनी रूपमा प्रतिबन्ध लगाउने प्रस्ताव राखेको छ ।