प्रतिकात्मक तस्वीर
तेहरान, भदौ २३ गते । उत्तरपूर्वी इरानको खोरासान रजावी प्रान्तमा आइतबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा ५५ जना घाइते भएका छन् । सब्जेभर र नेशाबुर काउन्टीबीचको सडकमा भएको दुर्घटनाको केही समयपछि चार एम्बुलेन्स र मेडिकल कर्मचारीहरू घटनास्थलमा पठाइएको चिकित्सा सेवा विभागका निर्देशक घोलाम–अब्बास काफीले जानकारी दिनुभयो ।

   उहाँले ५० घाइते यात्रुलाई घटनास्थलमै प्राथमिक उपचार गरिएको र अन्य पाँच जनालाई प्रान्तीय राजधानी मशहदबाट दुई सय ३० किलोमिटर पश्चिममा रहेको सब्जेभरको अस्पतालमा लगिएको बताउनुभयो  ।

   प्रान्तीय ट्राफिक प्रहरी कमाण्डर होसेन मिश्मास्तले स्थानीय समयानुसार बिहान ५ बजे दुर्घटना भएको जानकारी दिनुभयो । बस इराकको तीर्थयात्राबाट अफगान यात्रुहरू बोकेर फर्किरहेको बताइएको छ ।

मिश्मास्तले बस चालकको थकान र निद्राका कारण दुर्घटना भएको आशङ्का गर्नुभयो ।