काठमाडौँ, भदौ २२ गते । अर्थशास्त्री हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ आजदेखि बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा विमोचन भएसँगै उक्त पुस्तक बजारमा आएको हो । पुस्तक विमोचनपछि त्यसको समीक्षा पनि भएको थियो ।

त्यस अवसरमा लेखक रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक तयार पारेको बताउनुभयो । देशमा बहुदलीय व्यवस्था प्रारम्भ भएपछि सबै क्षेत्रमा सुधार हुन्छ भन्ने ठानिएकामा यथार्थमा त्यसो हुन नसकेको र राजनीतिक स्वतन्त्रता आए पनि आर्थिक तथा सामाजिक स्वतन्त्रता मुलुकले प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो । 

पूर्वकृषिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिक तहमा अहिलेको अर्थतन्त्रका व्यावहारिक समस्या के हुन् र त्यसको समाधान कसरी खोज्न सकिन्छ भनेर निकै कम चिन्तन हुने गरेको बताउनुभयो । उद्यम नगर्ने तर मुनाफा खोजीरहने प्रवृत्तिको अन्त्य नभएसम्म समाजवाद हासिल नहुने उहाँले बताउनुभयो ।

अर्थविद्  प्राध्यापक अच्युत वाग्लेले  अर्थतन्त्रका विषयमा राजनीतिक दलहरुमा निकै कम विमर्श हुने गरेको बताउँदै अर्थतन्त्रबारे सुझबुझ भएका व्यक्तिलाई मुलुकको अर्थतन्त्र सञ्चालनको जिम्मेवारी दिइनुपर्ने बताउनुभयो । विषयगत ज्ञान नभएका व्यक्तिलाई अर्थतन्त्र जिम्मा लगाउँदा त्यसले नतिजा दिन नसकेको उहाँले बताउनुभयो । देशमा पुँजीवाद, उदारवाद, समाजवाद अथवा साम्यवाद जे भनेपनि सबै राजनीतिक दलहरु स्वार्थकेन्द्रित र भष्ट्राचारमा केन्द्रित भएको आरोपसमेत उहाँले लगाउनुभया । रोकाको पुस्तकमा नवउदारवादलाई आलोचनात्मक ढङगले हेरिएको प्राध्यापक वाग्लले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य गीता पौड्याल अधिकारीले नेपालको आर्थिक नीति निर्माण प्रक्रियाप्रति प्रश्न उठाउनुभयो । केन्द्रमा बसेर नीति तथा कार्ययोजना बनाउने तर त्यसलाई तल्लो तहले कार्यान्वयन गर्नुपर्ने विद्यमान अवस्थाले लक्षित नतिजा हासिल गर्न चुनौतीपूर्ण हुने उहाँले बताउनुभयो । 

बेला पब्लिकेशनले बजारमा ल्याएको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तकमा वैकल्पिक आर्थिक नीति, राज्य र अर्थतन्त्र, कृषिको रुपान्तरण र खाद्य सुरक्षा, भूमिसुधार, औद्योगिक नीति, मौद्रिक नीति, कर प्रणाली पुनर्संरचनालगायत विभिन्न १२ वटा शीर्षकमा अर्थ राजनीतिक निबन्ध छन् ।