विभक्त नेवाः सांस्कृतिक ज्ञानकोश आज सार्वजनिक गरिंदाको तस्वीर ।
काठमाडौँ, भदौ २१ गते । पाँच खण्डमा विभक्त नेवाः सांस्कृतिक ज्ञानकोश आज सार्वजनिक गरिएको छ । पाँच विधाका ती पुस्तकहरू नेपाल भाषा एकेडेमी र काठमाडौँ महानगरपालिकाद्वारा संयुक्त रूपमा प्रकाशन गरिएका हुन् ।

नेवाः पहिचान खण्डको संयोजकमा शाक्य सुरेन तथा डा पुष्पराज राजकर्णिकार, भाषा, लिपि र साहित्य खण्डको संयोजकमा प्रा प्रेमशान्ति तुलाधर तथा सह प्रा मदनसेन बज्राचार्य, संस्कृति र सम्पदा खण्डको सयोजकमा प्रा डा चुन्दा बज्राचार्य, शिल्प, प्रविधि र ज्ञान खण्डको संयोजकमा विश्व शाक्य र गीत, बाजा र नाच खण्डको संयोजकमा गणेश राम लाछि तथा त्रिरत्न मानन्धर हुुनुहुन्छ । ज्ञानकोशको परिकल्पनाकार तथा प्रमुख संयोजक मल्लके सुन्दर हुनुहुन्छ ।

नेवाः जीवन पद्धति, ज्ञान, जीवन दर्शन, संस्कृति तथा सम्पदाबारेका जानकारीलाई यथासमयमै सङ्ग्रह तथा अभिलेखीकरण गर्ने यस परियोजनाका लागि नेपाल भाषा एकेडेमीले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेको थियो । कुल प्रस्तावित बजेट रु एक करोड १४ लाख ५९ हजार छ सय २० मध्ये एकेडेमीले १५ प्रतिशत बेहोरेको हो । ज्ञानकोशको प्रकाशनले छरिएर रहेका अमूल्य ज्ञान, नासिँदै गएका सम्पदा तथा परम्पराबारेको यथार्थ विवरण व्यवस्थित रूपमा सङ्ग्रह भई चीरकालसम्मका लागि जगेर्ना हुने र ती ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्नसमेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

कवि दुर्गालाल श्रेष्ठ, बौद्ध विद्वान यज्ञमान बज्राचार्य, साहित्यकार सुवर्णकेशरी चित्रकार, नाट्य गुरु श्रीगोपाल प्रजापति र प्राज्ञ कालु कुम्हालेले पुस्तकलाई एकसाथ सार्वजनिक गर्नुभएको हो ।

त्यस अवसरमा काठमाडौँ महानगर उपप्रमुख सुनिता डङ्गोलले नेवाः सांस्कृतिक ज्ञानकोशबारेको जानकारी गैरनेपाल भाषीहरूलाई पनि दिन जरूरी रहेकाले यसको अनुवाद कार्यमा महानगरपालिकाले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

ज्ञानकोशका परिकल्पनाकार मल्ल के सुन्दरले पाश्चात्य प्रभाव हावी हुँदै गइरहेको समयमा नेवाः समुदायको गौरवपूर्ण परम्परा, संस्कृति, सम्पदा र जीवन पद्धतिलाई लिपिवद्ध गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर ज्ञानकोश प्रकाशन गर्ने परियोजना अघि बढाइएको जानकारी दिनुभयो । उहाँकानुसार यो परियोजना साढे दुई वर्षको अवधिमा सम्पन्न गरिएको हो ।

एकेडेमीका तर्फबाट काठमाडौं महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यलाई परियोजना अघि बढाउन पु¥याउनुभएको योगदानको कदरस्वरूप ज्ञानकोशको एक/एक प्रति प्रदान गरिएको थियो ।