जीर्ण बनेको सडक ।
राजविराज भदौ २१ गते । राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा हुँदा पनि मर्मत नहुँदा सवारीसाधन र स्थानीयहरुलाई समस्या परेको हो ।

माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताउनुभयो । रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभइ अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उहाँको भनाई छ । “उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन”, यादवले भन्नुभयो ।

यही बाटो भएर राजविराज काठमाडाँैलगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन् । बस व्यवसायी विजय दास सडकको दूरावस्थाका कारण दैनिक साना–ठूला दुर्घटना हुने गरेका बताउनुहुन्छ । उक्त खण्ड तत्काल मर्मत तथा पुनःनिर्माण गरी आवागमन सहज बनाउन उहाँको आग्रह छ ।

राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले जीर्ण सडक मर्मतका लागि सहजीकरण गर्ने बताउनुभयो ।