फाइल तस्वीर
काठमाडौँ, भदौ २१ गते । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिन्दु नारीहरुको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको छ । विहीबार प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । विहीबार तोलामा एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको छ ।