कर्णाली, भदौ २० गते । पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारिताको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलिसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलिसम्म’ यही भदौ १३ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुर्खेतको वीरेन्द्रनगरमा लोकार्पण गर्नुभएको थियो । तत्कालीन माओवादीको सशस्त्र विद्रोह ताका आफैँ सहभागी भएर भोगेका भोगाइ, युद्धको अवस्था, अनुभूति र अनुभवलाई पुस्तकमार्फत सरल भाषामा लिपिबद्ध गरिएको शर्माले बताउनुभयो ।

विद्यार्थीकालको एउटा अल्लारे बालक बिउ छर्न छोडेर क्रान्तिमा होमिएकोदेखि ‘जुनी कम्यून’ले ल्याएको सामाजिक रुपान्तरण र विशेषगरी युद्धका घटनाक्रमका पक्ष पुस्तकमा उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । लेखक स्वयंले तत्कालीन आन्दोलनको परिवेश, क्रान्तिप्रतिको आकर्षण र त्यसले ल्याएको परिवर्तन, व्यवस्था र आजको अवस्थालाई पुस्तकमार्फत चित्रण गर्नुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक युवराज शर्माले पुस्तकामा जाजरकोट, रुकुम, रोल्पा, सुर्खेत, दैलेख, अछाम, कालिकोट, सल्यान, बाग्लुङ, म्याग्दी, मुस्ताङ, पर्वत, कास्की, तनहुँ, लमजुङको भूगोलसँगै छिमेकी मुलुक भारत र चीनका विभिन्न भूगोल समेटिएको बताउनुभयो । उहाँका अनुसार पुस्तकमा प्रकृति, समाज, संस्कृति, पर्यटन, इतिहाससँगै नेपालमा भएको दशवर्षे आन्दोलन र युद्धसम्बन्धी घटनाक्रमलाई विशेष महत्व दिइएको छ ।

उपप्रध्यापक शर्माले पुस्तकमाथिको समीक्षामा भन्नुभयो, “नेपालमा माओवादी सशस्त्र युद्ध चलिरहेका बेला युद्धको आधारभूमि मानिएको राप्ती, भेरी, कर्णाली र सेतीका बस्तीहरु घुमेर भूमिगत योद्धाका हैसियतमा लेखकले विद्यार्थी जगाउँदै, नेतृत्वलाई सघाउँदै र युद्धका खबरको प्रकाशन÷प्रसारण गरेर युद्ध पत्रकारिताको अभ्यास समेत गरेका छन् । साम्यवादी संस्था, जीवन पद्धति र संस्कृतिको विकास र प्रवर्द्धनका पक्षमा कलम चलाएका शर्माले माओवादी आन्दोलनका विभिन्न पक्षलाई पुस्तकमा उल्लेख गर्नुभएको छ । नियात्रा सङ्ग्रहलाई भूमिगत युद्धसँग प्रत्यक्षरुपमा जोडिएको यात्रा साहित्यको एक महत्वपूर्ण दस्तावेज मान्न सकिन्छ ।”

पत्रकार महेश्वर दाहालले जनयुद्धको उर्वरभूमिबाट पत्रकारका रुपमा उदाएका पात्र शर्मा इमान्दार र कर्मशील भएको बताउँदै यात्रा संस्मरणबाट शर्माको पृष्ठभूमि र वर्तमानलाई पनि पढ्न सकिने जनाउनुभयो ।

पत्रकार दाहालले टिप्पणी गर्दै भन्नुभयो, “प्रत्येक मानिसको जीवनमा खास घटनाले खास प्रभाव पारेको हुन्छ । त्यो घटना र प्रभावले एउटा व्यक्तिको जीवनमा पार्ने असर मानवीय सभ्यतामा योगदान दिनेसम्म स्तरमा विकसित हुनसक्छ भन्ने विषय पुस्तकमा समावेश गरिएको छ । जनयुद्धको अवधि एउटा भीषण आँधीबेहरीपूर्ण अवस्था थियो । घटनाक्रम मात्र होइन, जीवन अस्थिरताको एउटा पर्याय थियो । जनयुद्धका घटना सुन्न बलियो धैर्यता चाहिने अवस्थामा त्यसको प्रत्यक्ष भोगाइ र ती भोगाइलाई लिपिबद्ध गर्न झन ठूलो धैर्यताको आवश्यकता पर्दछ ।”

दीपेन्द्रले धैर्यतापूर्वक आफ्ना भोगाइलाई जीवन्त र कलात्मक रुपमा शब्दमार्फत् अभिव्यक्त गर्नुभएकाले उहाँको कामको प्रशंसा गर्नुपर्ने पत्रकार दाहालले बताउनुभयो । अग्निदीक्षा, ओयाङ हाइको गीत, चम्किलो रातो ताराजस्ता उपन्यासका पात्रलाई आदर्श मानेर धेरै युवा क्रान्ति र परिवर्तनप्रति प्रतिबद्ध र प्रेरित बनेका परिवेश स्मरण गर्दै उहाँले शर्माको संस्मरण परिवर्तन र क्रान्तिप्रति विश्वास जगाउने र उत्प्रेरित गर्ने एउटा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार दाहालले पुस्तकमाथिको समीक्षा गर्दै भन्नुभएको छ, “जनयुद्धकालमा कलेज वा अन्य अध्ययन नगरेर पनि हजारौँ पत्रकार जन्मिएका थिए । ‘गरेर सिक्ने’ हुटहुटी र ‘आवश्यकता’ले त्यतिबेला धेरै पात्रलाई सक्रिय पत्रकारका रुपमा जन्माएको थियो । जनयुद्धको गर्भबाट विशिष्ट भूमिका निर्वाह गर्दै आएक शर्मा पत्रकारितामा क्रियाशील एक पात्र हुन् । पत्रकार शर्मा अब लेखकीय संसारमा प्रवेश गर्नुभएको छ । युद्धपत्रकारितामा जस्तै यो नयाँ विधामा पनि शर्मालाई सफलता मिल्ने मैले विश्वास गरेको छु ।”

कुसे गाउँपालिका–३ (साविक अर्छानी) जाजरकोटमा जन्मनुभएका शर्मा हाल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्छ । केही समय राष्ट्रिय समाचार समितिमा काम गर्नुभएका उहाँले मध्यपश्चिम विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गर्नुभएको छ ।