वीरगञ्ज, भदौ २० गते । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै उच्च क्षमताको विद्युत्को अभावले विभिन्न समस्या झेल्नुपरेको बताउँदै आइरहेको थियो । प्राधिकरणले कारखानामा देखिएको विद्युत्को समस्या अन्त्य गर्नका लागि बुधबारदेखि नयाँ ट्रान्सफर्मर जडान गरेर सञ्चालनमा ल्याएको हो ।

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अबदेखि कृषि औजार कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव नहुने बताउनुभयो । “विगतमा ६५ केभीए क्षमताको विद्युत् अस्थायी लाइनले काम चलाउँदै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अब कारखानाका लागि आवश्यकपर्ने विद्युत्को अभाव हुने छैन”, केन्द्रका अध्यक्ष पुनले ट्रान्सफर्मर जडानका लागि प्राधिकरणको १५ लाख र केन्द्रको १२ लाख खर्च भएको बताउनुभयो । केन्द्रले विगत २३ महिनादेखि कृषि औजार कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको हो । केन्द्रले हालसम्म करिब डेढ दर्जन कृषि औजार अनुसन्धान र विकास गरेको जनाएको छ ।