काठमाडौं । हरितालिका तीज व्रतको अघिल्लो दिन आज । आज बेलुका घर घरमा दर खाने चलनसँगै हिन्दु महिलाहरुको चार दिने तीज पर्व सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ ।
आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । भोली तीजको व्रत बस्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि मीठा र आडिलो परिकार दरका रुपमा खाइ भोलिको व्रतका लागि पूर्व तयारी गर्छन् । महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने गरेका छन् ।


पछिल्ला वर्षहरुमा तीजका नाममा तडक भडक बढेको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको देखिन्छ । यस्ता गतिविधिले दुःखी गरिबलाई खिन्न बनाउने भएकाले पनि विकृति रोक्नु आवश्यक छ ।


आज दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । भोलि तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन पर्सी गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।