फाइल तस्वीर
पोखरा, भदौ १९ गते ।
नेपाली मौलिक संस्कृतिको जर्गोना गर्ने उद्देश्यले ३९ वर्षदेखि सञ्चालन हुँदै आएको तीज गीत प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । पोखरा–१० रामबजारस्थित राममन्दिर माछापुच्छे« महिला समूहद्वारा आयोजना गर्न लागिएको हो ।

रामबजारमा विसं २०४३ देखि तीज गीत प्रतियोगिता आयोजना हुँदै आएको समूहकी अध्यक्ष माया गुरुङ भुजेलले दिनुभयो । भदौ २१ गते आयोजना हुने प्रतियोगितामा पोखरा तथा बाहिरबाट २५ समूहले सहभागिता जनाउने भएका छन् ।  

स्थानीय ९२ वर्षीय मनवीर गुरुङले परापूर्वकालदेखि स्थानीय दिदीबहिनीहरुले राममन्दिरको चौरमा गीत गाउँदै आएको र तीज गीतलाई व्यवस्थित गरी प्रतियोगिता सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागीले मौलिक संस्कृति झल्कने गीतहरु गाउनुपर्ने र राजनीतिक र व्यक्तिगत आक्षेप लगाउन नपाइने नियम बनाइएको छ । प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई २० हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ, सान्त्वना हुने समूहलाई सात हजार रुपैयाँका साथै उत्कृष्ट वेशभूषा र नाचलाई पुरस्कृत गरिने जानकारी दिनुभयो  । 


तीज गीत प्रतियोगिता सम्पन्न गर्न सात साख ३५ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकमले पोखराको रामबजारस्थित कालिका माविका दुई आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीलाई स्कुल पोशाक, कापी, किताबका साथै सम्पूर्ण खर्च व्यहोर्ने अध्यक्ष भुजेलले बताउनुभयो ।  रासस