काठमाडौँ, भदौ १८ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको खेलमैदानमा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै समान एक–एक अङ्क बाँडेका हुन् । खेलको छैटौँ मिनेटमा सुनकला राईको गोलमार्फत कर्णालीले अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त समयमा चन्द्रपुरले एक गोल गर्दै खेललाई बराबरीमा ल्यायो । चन्द्रपुरका लागि सेनु परियारले दिएको सुन्दर पासको सदुपयोग गर्दै रजनी थोकरले गोल गरेकी थिइन् ।