फाइल तस्वीर
नवलपरासी, भदौ १८ गते । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नदीजन्य सामग्रीको चोरी निकासी रोक्न ‘चोरी निकासी नियन्त्रण अभियान’ सञ्चालन गरेको छ । नगरपालिकाअन्तर्गत विभिन्न नदीबाट चोरी गरी विभिन्न ठाउँमा थुपारेर राखिएका नदीजन्य पदार्थ जफत गर्दै आएको नगर प्रमुख विमला अर्यालले जानकारी दिनुभयो ।

पछिल्लो पटक तुरिया खोला,  चारघरे,  सोमई  टोललगायतका क्षेत्रबाट नदीजन्य पदार्थ जफत गरिएको हो । जफत गरिएका नदीजन्य पदार्थलाई कानुनअनुसार लिलाम गरिनेछ । अभियानअन्तर्गत चोरी निकासीमा संलग्न सवारी साधन नियन्त्रण र थुपारेर राखिएका पदार्थ जफत अगाडि बढाइएको नगर प्रमुख अर्यालले बताउनुभयो । 

विभिन्न खोलाबाट पछिल्लो पटक नदीजन्य पदार्थको चोरी निकासी बढेपछि नगरपालिकाले थुपारेर राखिएको स्थानको खोजी गरेर जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । वर्षाको समयमा असारदेखि भदौसम्म नदीजन्य पदार्थको ठेक्का लगाउन नमिल्ने प्रावधान रहेकाले पनि अहिले त्यस क्षेत्रमा चोरी निकासी बढेको हो । चोरी गरिएका नदीजन्य पदार्थलाई खोला छेउ, झाडी, कुला, खुला चौरलगायत स्थानमा ढुङ्गा  थुपारेर राखेको अवस्थामा जफत गरिएको नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । 

नगर क्षेत्रको पानभार खोला, भूमही खोला क्षेत्रमा पनि अवैध रूपमा नदीजन्य पदार्थ थुपारेर राखिएको बताइएको छ । ती स्थानहरूमा पनि क्रमशः अनुगमन गरेर जफत गरिने नगर प्रमुख अर्यालले जानकारी दिनुभयो । रासस