फाइल तस्वीर
काठमाडौँ, भदौ १८ गते । आज मङ्गलबार पनि मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी वायुकोे प्रभावले मुलुकभरको मौसममा आंशिक बदली भइरहेको छ । आज बिहानदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि देशभर आंशिकदेखि साधरणतया बदली हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ भने बाँकी अरु प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यमखालको वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेस, लुम्बिनी र बाग्मती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यमखालको वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

कोशी प्रदेशका थोरै तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।