साङ्केतिक तस्वीर
सिमकोट, भदौ १८ गते ।
गुणस्तरीय सडक निर्माण नभएको हिमाली दुर्गम जिल्ला हुम्लामा तीन वर्षमा यहाँका विभिन्न क्षेत्रमा ३३ वटा दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिप, ट्र्याक्टर, डोजर (स्काभेटर) गरी छ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उक्त वर्षमा एकजना बालकको जिप दुर्घटनामा परी मृत्यु भएको थियो । दुर्घटनामा परी छजना घाइते भएका थिए । 

आव २०७९/८० मा विभिन्न स्थानमा १० वटा दुर्घटना भएको थियो । सोही समयमा दुर्घटनामा परी दुई जनाको ज्यान भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । उक्त वर्ष महिला र पुरुषगरी २४ जना घाइते भएका थिए । घाइते सबै विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारपछि घर फिर्ता भएका उहाँले बताउनुभयो ।

यस्तै गतमा जिल्लाका विभिन्न स्थानमा १८ वटा दुर्घटना भएका छन् । दुर्घटनामा परी महिला र बालक एक÷एक र पुरुष दुई जनाले ज्यान गुमाएका प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । यो तीन वर्षमा गत आवमा बढी दुर्घटना हुनुका साथै दुर्घटनामा परी मृत्यु हुनेको सङ्ऋया पनि बढी रहेको उहाँले बताउनुभयो । यो आर्थिक वर्षमा ३५ जना घाइते भएका थिए । रासस