वीरगञ्ज, भदौ १७ गते । जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी भदौ २३ गतेबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट हुदैँ आइरहेको सेवाप्रवाह पुनः इलाका प्रशासन कार्यालय सुपौलीबाट प्रवाह गर्ने जानकारी दिनुभयो । ‘‘इलाका प्रशासन कार्यालय सुपौलीको आफ्नै प्रशासनिक भवन निर्माण भएको र यसअघि इलाका प्रशासन कार्यालयबाट प्रवाह हुँदै आएको सेवा पनि भदौ २३ गतेदेखि पुन सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो ।

सेवा प्रवाहका लागि यहाँ इलाका प्रशासन कार्यालय रु एक करोड पाँच लाख ९९ हजार लागतमा निर्माण गरिएको छ ।

यसअघि विसं २०७५ पुस ११ गतेदेखि सरकारले सुपौलीबाट सेवाप्रवाह गर्दै आएकामा विभिन्न कारणले केही समय सेवा स्थगित भएको थियो । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । यहाँका जनताले वीरगञ्ज जान २७ किलोमिटर यात्रा गर्नु परिरहेको छ । पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्ने बताइएको छ ।