फाइल तस्वीर
काठमाडौँ, भदौ १७ गते ।
मुलुकभरको मौसममा मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सोमबार पनि देशैभरको मौसममा आंशिक रुपमा बदली भइरहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ ।

आज सोमबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षा हुनसक्ने सम्भावना रहेको छ भने राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले धेरै वर्षा हुने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।