काठमाडौँ, भदौ १६ गते । बौद्ध विदूषी सुमति बज्राचार्यद्वारा लिखित ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’ शीर्षक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ । बज्राचार्यको नेपाल भाषामा विसं २०७५ फागुनमा प्रकाशित पुस्तकलाई खबर मिडिया प्रालिले नेपालीमा भाषानुवाद गरी संस्करण प्रकाशन गरेको हो ।

त्यस अवसरमा त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभाग प्रमुख डा चन्द्रकला घिमिरेले शरीरको प्रकृतिलाई बुझ्ने र आफैँतर्फ फर्केर अध्ययन गर्ने बुद्ध दर्शनको मुख्य अभिप्राय रहेको बताउनुभयो । बौद्ध साहित्यको अपार भण्डारलाई नेपाली भाषामा अनुवाद गरी बाहिर ल्याउने दायित्वलाई नेपाली समाजले निर्वाह गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा हृदयरत्न बज्राचार्यले बौद्ध दर्शनको अध्ययनसँगै त्यसका गुह्य पक्षहरू बुझ्न योग्य गुरूको निर्देशन आवश्यक रहेको बताउनुभयो । भोट भाषाविज्ञ तथा अनुवादक पुण्यप्रसाद पराजुलीले प्रस्तुत विश्वविद्यालयका शोधकर्ताहरूका साथै विदेशी पर्यटकका निम्ति पथप्रदर्शक भई काम गर्नेहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नमोबुद्ध गुम्बाका प्रमुख लामा गुरू वान्चुक टोप्देनले बौद्ध दर्शनका यस्ता गहकिलो पुस्तक अन्य भाषाभाषीका लागि पनि उपलब्ध हुनुपर्छ भन्ने ठानेर पुस्तक प्रकाशनमा सहयोग गरेको जानकारी दिनुभयो ।