फाइल तस्वीर
काठमाडौँ, भदौ १६ गते । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिमा व्यवस्था गरिएको लचिला प्रावधानले मुलुकको अर्थतन्त्रमा सुधार देखिँदै गइरहेको बताउनुभएको छ । ‘नाडा अटो शो २०२४’ को सन्दर्भमा इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान)ले आज आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तरक्रियामा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्ता दावी गर्नुभएको हो ।

डेपुटी गभर्नर मिश्रले मौद्रिक नीतिको कार्यदिशा सजकतापूर्वक लचिलो बनाइएको र नियामक व्यवस्थामा सुधार भएकाले अर्थतन्त्र विस्तारै चलायमान बन्दै गइरहेको उल्लेख गर्दै “बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएका छन्” भन्नुभयो ।
पुँजीबजारमा देखिएको वृद्धि पनि मौद्रिक नीतिकै कारण भएको जिकिर गर्दै डेपुटी गभर्नर मिश्रले राजस्व कम भए पनि विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्नुपर्छ भनेर राष्ट्र बैंकले नीतिगत सम्बोधनको प्रयास गरिरहेको बताउनुभयो । उहाँले नेपालमा एसेम्बल भएका सवारीसाधनलाई प्रोत्साहित गर्दै थोरै मात्रै भए पनि छुट सुविधा दिन सकिए स्वदेशी उत्पादन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सकिनेमा विश्वास व्यक्त गनुभयो ।

सोही कार्यक्रममा बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले बैंक तथा वित्तीय क्षेत्रले विद्युतीय सवारीसाधनको प्रवद्र्धन र पर्यावरणमैत्री बनाउन सहकार्य जारी राख्ने धारणा राख्नुभयो ।

 बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष उपेन्द्र पौडेलले अटोमोबाइल व्यवसायलाई उत्पादनशील बनाइनुपर्नेमा जोड दिनुभयो । स्वदेशी ऊर्जाको खपत र पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गरिनुपर्ने उहाँको भनाइ थियो ।

 नेपाल अटोमोबाइल्स एशोेसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीले विद्युतीय सवारीसाधनको प्रोत्साहनका लागि उपभोक्ताको मागअनुसार चार्जिङ सेन्टर पनि विस्तार गर्दै लगिने बताउनुभयो ।