फाइल तस्वीर
काठमाडौँ, भदौ १६ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोे छ । मनसुनी वायुको प्रभावले हाल कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली हुनुको साथै बागमती प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज आइतबार दिउँसो पनि देशभरको मौसम आंशिकदेखि साधरणतया बदली हुनेछ भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा जनाइएको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि देशभरको मौसम बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।