फाइल तस्वीर कोशी प्रदेशसभा ।
मोरङ, भदौ १५ गते । कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सो संशोधन विधेयमाथि सैद्धान्ति छलफल गरियोस् भन्ने प्रस्ताव सदन समक्ष पेश गर्नुभएपछि छलफल भएको हो ।
छलफल पश्चात् सभामुख अम्बरबहादुर विष्टले विधेयक सर्वसम्मतले पारित भएको सभा समक्ष जानकारी दिनुभएको थियो । संशोधन विधेयकको सैद्धान्तिक छलफल भाग लिँदै प्रदेशसभा सदस्य रामदेव यादव, भूपेन्द्र राई, प्रदीपकुमार सुनवार,शोभा चेम्जोङ, गेम्बु शेर्पा, विदुरकुमार लिंथेप, रमेशकुमार बस्नेत लगायतले विधेयकमा जनसङ्ख्याको आधारमा आरक्षण हुनुपर्ने, संशोधन विधेयकमा समानता रहेको विचार राख्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले सैद्धान्तिक छलफलमा उठेका जिज्ञासामा जवाफ दिनुहुँदै विधेयक समयानुकूल परिमार्जन गर्न ल्याएको बताउनुभयो । उहाँले विधेयकले स्थायी सरकारको रूपमा रहेका कर्मचारीलाई चुस्तदुरुस्त एवं जनमुखी बनाउन सहयोग पुग्ने छ भन्नुभयो । सभाको अर्काे बैठक भोलि आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा संसद सचिवालयले जनाएको छ ।