तस्वीरमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको खेलमैदान ।
जोमसोम, भदौ १५ गते । मुुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा खेलमैदान निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कोवाङको धवलागिरि युवा क्लबले खेलमैदान निर्माण गरेको हो ।

प्रदेश सरकारको १७ लाख ५० हजार रुपैयाँ बजेटमा भलिबल खेलमैदान र प्यारापिट निर्माण गर्नुका साथै फराकिलो बनाएको उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुुभयो ।

“आरसिसी ढलान गरेर भलिबलको कोर्ट र एक सय मिटर लामो प्यारापिट बनाएका छौँ”, उहाँले भन्नुभयो, “यसअघि ५० मिटर लम्बाइ भएको खेलमैदानलाई विस्तार गरेर एक सय मिटर लामो बनाइएको छ ।”

खेलमैदान निर्माणपछि धुलो र हिलोमा खेलअभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने अवस्था हटेको धवलागिरि युवा क्लबका अध्यक्ष मनप्रसाद गौचनले बताउनुभयो । फुर्सदको समयमा युवायुवतीलाई खेल अभ्यास गर्न सजिलो भएको छ । प्रतियोगिता आयोजना गर्न पनि सहज हुुने गौचनले बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले व्यवस्थित खेलमैदान अभावमा खेल प्रतिभाले अभ्यास र प्रतिभा प्रस्फुटन गर्न नपाएकाले प्रदेश सरकारमा पहल गरेर गत आर्थिक वर्ष २०८०/८१ मा बजेट व्यवस्थापन गरी कोवाङमा खेलमैदान निर्माण गरेको बताउनुुभयो । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक खेलमैदान कार्यक्रममार्फत गत वर्ष जोमसोमको खेलमैदानको २५ वर्षपछि स्तरोन्नति गरिएको पनि सांसद गौचनले बताउनुभयो ।