विराटनगर, भदौ १४ गते । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनको साबिकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पेश गर्नुभएको सो प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा विधेयक सर्वसम्मतले पारित भएको हो ।

यसैगरी, मन्त्री अधिकारीले प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम ९२ बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तावस्वरुप सदनमा पेस गर्नुभएको थियो ।

सो अवसरमा मन्त्री अधिकारीले प्रदेश सरकार बनेको समयदेखि नै जनताको चाहना र आवश्यकतामा विशेष ध्यान दिएको बताउनुभयो । उहाँले प्रदेशमा हालै आएको बाढी र पहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकार राहत, उद्धार एवं खोजमा निकै क्रियाशील भएर काम गरेको जानकारी दिनुभयो ।

मन्त्री अधिकारीले सोलुखुम्बुको थामे गाउँमा आएको बाढी र पहिरोमा परेका परिवारलाई आवश्यकताका आधारमा तत्काल राहत वितरण गरेको जानकारी दिँदै उहाँले भत्रुभयो, “सरकार जनताको जीउधनको रक्षा गर्न क्षमताले भ्याएसम्म काम गर्छ ।”

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता तिलकुमार म्याङ्बोले विशेष समयमा पटकपटकको परिवर्तन र फरेबदलले सरकारले स्थिरता नपाउँदा जनताका धेरै काम हुन नसकेको बताउनुभयो । उहाँले अहिलेको सरकार जनताले अपेक्षा गरेअनुरुप काम गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले लामो समयदेखि सदन अवरुद्ध हुँदा जनताका मुद्दामा बृहत् छलफल हुन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र)ले सरकारलाई प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताउनुभयो । 

प्रतिपक्षको भूमिका निर्वाहमा कुनै कसर बाँकी नराख्ने भन्दै नेता आङ्बो सरकारलाई जनताका तर्फबाट राम्रो कामको समर्थन र गलत कामका लागि खबरदारीको भूमिका निर्वाह गर्न पछि नपर्ने प्रतिक्रिया दिनुभयो ।

शून्य समय

मुलुकको समसामयिक विषयमा शून्य समयमा कोशी प्रदेशसभा सदस्य गोम्बू शेर्पा, रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल, यशोदा कायस्त, मैयाँ श्रेष्ठ, मीना श्रेष्ठ, इन्द्रमणि पराजुली, गीता रेग्मी र गोपालबहादुर विश्वकर्माले पनि बोल्नुभएको थियो । सभाको बैठक भोलि बिहान ११ बजे बस्नेछ ।