फाइल तस्वीर
पोर्चुगल, भदौ १४ गते । युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको हो ।

आगामी वडादसैँ र दीपावलीको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ । पहिलोपटक आयोजना गर्न लागिएको यस प्रतियोगितामा पोर्चुगलसहित युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीको सहभागिता रहने आयोजक पोखरा फुटबल क्लबले जनाएको छ ।

नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अस्बिनजङ्ग ठकुरीले बताउनुभयो । प्रतियोगिताका विजेताले उपाधिसहित नगद तीन हजार युरो र खसी हात पार्ने छ भने उपविजेताले एक हजार पाँच सय युरोसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ तीन विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५०/५० युरो र ट्रफी प्रदान गरिनेभएको छ ।

लिस्बनस्थित भिटोरिया दी क्लबको खेलमैदानमा हुने प्रतियोगितामा कम्तिमा पनि २० टिमको सहभागिता रहने खेल संयोजक प्रजेश गुरुङले बताउनुभयो । प्रतियोगिताबाट बचत भएको रकमले दुःख र समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने क्लबको योजना रहेको संयोजक गुरुङले बताउनुभयो ।