भारत, भदौ १३ गते । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ । भारी बर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।
गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ । इन्डियन एक्सप्रेसले राज्यभरी समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।
स्रोतका अनुसार विपद्बाट करिब एक हजार ८५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारीहरू तैनाथ गरिएको छ । विपत्का कारण उर्जा तथा बिद्युत सेवा प्रभावित हुँदा करीब एक हजार गाउँहरू बिद्युतविहीन भएको जनाइएको छ ।
विपद् अधिकारीहरूले सार्वजनिक गरेकोे तस्बिर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसहरूलाई बचाउनका कागि प्रयास गरिरहेको देखाइएको छ । विज्ञहरूले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको सङ्ख्या बढाइरहेको जनाएका छन्।