काठमाडौँ, भदौ ११ गते । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा यस वर्षको नाडा अटो शो– २०२४ सुरु भएको छ । आज मङ्गलबारदेखि छ दिनसम्म चल्ने नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको सवारी साधानहरुको १६ औं संस्करणको अटो शोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गर्नुभएको हो ।


नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले हरेक वर्ष ‘नाडा अटो शो’ आयोजना गर्दै आइरहेको छ । आयोजकका अनुसार नाडाले विद्युतीय सवारी साधानमा जोड दिंदै यस वर्षको ‘नाडा अटो शो’ मा करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्ड र दुई दर्जनबढी नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिने भएको छ ।


प्रदर्शनीमा विभिन्न २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे र १२ ब्राण्डका हल्का लाइट सवारी साधन प्रदर्शन गरिने बताइएको छ । आयोजकका अनुसार नाडा अटो शोमा सवारीसाधनसँगै विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री, टायर, स्पेयर पार्ट्स, विभिन्न ब्रान्डका स्पेयर पार्ट्स, हेल्मेट, ग्यारेज र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहने छन् ।

अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागिता जनाउने भएका छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज कर्जाको सुविधा प्रदान गर्ने बताएका छन् ।


अटो शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । जसमा खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ । आयोजकका अनुसार यसका लागि १ सय ३० वटा स्टलको व्यवस्था गरिएको छ । प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको छ ।