फाइल तस्वीर
गोदावरी, भदौ १० गते । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा चार करोड २४ लाख माछाका भुरा विक्री गरेको छ । गत आव २०८०/८१ मा सिल्भर र विगहेड जातका माछा दुई सय २४ किलो, कमन, ग्रास, रहु, नैनी र भाकुर जातका सात सय ५२ किलो माछा बिक्री गरेको केन्द्रले जनाएको हो ।

उक्त मत्स्य विकास केन्द्रका सूचना अधिकारी सरोजराज रेग्मीले माछा, भुरा उत्पादन बिक्री गरेर केन्द्रले ५३ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

केन्द्रले ग्रास, सिल्भर, कमन, बिगहेड, रहु, नैनी र भाकुर जातका ह्याचलिङ, फ्राइ, फिगरलिङ, एडभान्स फिगरलिङ र इयरलिङ साइजका भुरा सहुलियत दरमा किसानलाई बिक्री गर्दै आएको छ । केन्द्रबाट सुदूरपश्चिमका नौ जिल्ला एवं बर्दिया, सुर्खेत, दाङसम्मका किसानले भुरा खरिद गर्ने गरेका छन् । भुरासँगै विभिन्न जातका माछा पनि उत्पादन गरी केन्द्रले बिक्री गर्दै आएको सूचना अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

माछापालन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको केन्द्रले प्रतिगोट २५ पैसादेखि ७५ पैसासम्म किसानलाई उपलब्ध गराउँदै आएको जनाएको छ । केन्द्रले अघिल्लो आव २०७९/८० मा भुरा बिक्री गरेर ५२ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ । मत्स्य विकास केन्द्रले वार्षिक करोडौँको सङ्ख्यामा भुरा उत्पादन गरे पनि किसानको मागलाई पुर्याउन नसकिएको सूचना अधिकारी रेग्मीको भनाइ छ ।

केन्द्रमा रहेको पुरानो संरचना र जनशक्ति अभावका कारण माछाका भुरा उत्पादन बढाउन सकेको छैन । माछाको भुरा उत्पादन गर्न थप ह्याचरी, जनशक्ति र केमिकलको व्यवस्था गर्न आवश्यक रहेको केन्द्रले जनाएको छ । पुराना पोखरीको मर्मत, नयाँ पोखरी निर्माण र नयाँ ह्याचरी थप गर्नसके मागको ७५ प्रतिशत भुरा उपलब्ध गराउन सकिने रेग्मीले बताउनुभयो । मत्स्य विकास केन्द्रको २० बिघा जमिनमध्ये १२ बिघामा मात्र पोखरी बनाइएको छ । ती पोखरीमा पालिएका माउ माछाबाट केन्द्रले फागुनदेखि भदौसम्म प्रजनन गराएर सात जातका भुरा उत्पादन गर्दै आएको छ ।