फाइल तस्वीर ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी ।
काठमाडौँ, भदौ १० गते । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा आज ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्रमन्त्री देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री बुसैदी दुई दिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो ।

नेपाल भ्रमणका क्रममा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको बताइएको छ ।

परराष्ट्रमन्त्री देउवा र ओमानका समकक्षीबीच हुने भेटका क्रममा दुई देशको आपसी हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको दुई दिने भ्रमणमा आउन लाग्नु भएका ओमानका विदेशमन्त्री बुसैदी भोलि मङ्गलबार स्वदेश फर्किनुहुने छ ।