फाइल तस्वीर
काठमाडौँ, भदौ १० गते । नेपालमा जारी साफ यु—२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ । आज सोमबार हुने दोस्रो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्व भारत र बङ्गलादेशबीच हुन लागेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेल दिउँसो ३ बजेदेखि सुरु हुने अन्तिम सेमिफाइनलका दुई प्रतिस्पर्धी टिम भारत र बङ्गलादेशले माल्दिभ्सलाई हराएर सेमिफाइनलको यात्रा पक्का गरेका थिए ।

सार्क सदस्य राष्ट्रका छ टिम सहभागी साफ यु—२० च्याम्पियनसिपको समूह ‘बी’मा रहेका यी दुई टिमबीच हुने आजको प्रतिस्पर्धामा विजयीहुने टिम फाइनलमा प्रवेश गर्ने छ ।

यसअघि हिजो आइतबार भएको समूह ‘ए’ मा रहेको आयोजक राष्ट्र समूह विजेता नेपाल र समूह ‘बी’ को उपविजेता टिम भुटानबीच भएको सेमिफाइनलमा नेपालले भुटानलाई ४—१ गोल अन्तरले पछिपार्दै फाइनको यात्रा तय गरिसकेको छ । समूह चरणमा अपराजित हुँदै फाइनलमा पुगेको नेपालले हिजो पेनाल्टी सुटआउटमा भुनानलाई हराएको थियो ।

यसैगरी समूह ‘बी’मा रहेको भारत पनि अपराजित रहँदै आज सेमिफाइनल खेल्न लागेको छ । समूह ‘बी’ को विजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेको भारतले समूह ‘ए’ को उपविजेता रहेको बङ्गलादेश बीच आज कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

आज हुने भारत र बङ्गलादेशबीच हुने सेमिफाइलनको विजेता टिमले उपाधिको लागि आयोजक राष्ट्र नेपालसँग प्रतिस्पर्धा गर्ने छ । फाइनल खेल पर्सी बुधबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने एन्फाले जनाएको छ ।