फाइल तस्वीर
काठमाडौँ, भदौ १० गते । आज सोमबार पनि मुलुकभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेकोले मनसुनी वायुको प्रभाव कायम रहेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने र देशका सबै सातै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरुमा हुन सक्ने बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।