तस्वीरमा असी वर्षीय किसान जीतुहर्क तामाङ ।
उदयपुर, भदौ ९ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर जीतुहर्क अहिले पनि कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । यही पेशाबाट उहाँले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

जीतुहर्कले १३ रोपनी जग्गामा फलफूलखेती गर्नुभएको छ । सबैभन्दा धेरै लिच्ची र कागती रोप्नुभएको छ । कागती बिक्रीबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विगत ३० वर्षदेखि उहाँले खसीबाख्रा पाल्दै आउनुभएको छ । अहिले उहाँको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन् । एक सयमध्ये ३८ वटा त खसीमात्र छन् ।

उहाँले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पाल्नुभएको छ । खसीबाट वार्षिक रु सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी रु चार लाखसम्म आम्दानी गर्नुहुन्छ । विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय हुनुहुन्छ ।

“मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ”, उहाँले भन्नुभयो, “राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।”

अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिनुहुन्छ । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिनुहुन्छ । उहाँका चार छोरामध्ये उहाँ साहिँला छोरासँग बस्नुहुन्छ । हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको बताउनुहुन्छ उहाँ । उहाँलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्नुहुन्छ, “उहाँ कर्मठ कृषक हुनुहुन्छ । यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ । उहाँ सफल कृषकमात्र नभई समाजसेवी पनि हुनुहुन्छ ।”

पञ्चायतकालमा  प्रधानपञ्च हुँदा उहाँले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गर्नुभयो र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गर्नुभएको प्राचार्य थापामगरले जानकारी दिनुभयो ।  रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भन्नुभयो, “जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्कनुभयो ।”

असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउनुहुन्छ । “सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उहाँ भन्नुहुन्छ, “यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।”

उहाँ दैनिक दूधभात, मासु र फलफूल खाने गर्नुहुन्छ । आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उहाँले सरसापटी दिने गर्नुभएको छ । ८० वर्षको उमेरमा पनि उहाँको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउनुहुन्छ ।