काठमाडौँ, भदौ ९ गते । भारतको विहारस्थित समस्तीपुरमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार नेपाली तीर्थयात्री बोकेको बस भारतीय ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

बसमा सवार तीन दर्जन बढी यात्रु घाइते भएको र विभिन्न नजिकका अस्पतालहरुमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । देवघर गइरहेको बस गएराति दुर्घटनामा परेको हो । करिब ४३ यात्रु सवार ना ७ ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा बच्चा समेत ८ यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ । बस ट्रकसँग ठोक्किएपछि बसको एक्सल टुटेको र दुर्घटना भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।