काठमाडौँ, भदौ ८ गते । यस वर्षको गौरा पर्व मनाउनका लागि केराउ, जौ, मस्याङ, मास र गुराँस गरी पाँच चीजको गेडा भिजाएर राखिएको छ । यसरी पाँच चीज मिलाएर भिजाउनुलाई बिरुडा भिजाएको भनिन्छ । अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रुपमा यसरी भिजाएको पाँच प्रकारको चीज अर्थात् बिरुडा चढाइन्छ । भक्तजनलाई पनि प्रसादका रुपमा बिरुडा नै बाँडिन्छ । पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमीका नामले चिन्ने गरिएको छ ।

गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई यस वर्ष भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर वर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् नन्दकृष्ण जोशीले बताउनुभयो ।

देवीलाई गाउँका नायकले भ्यिाउनुपर्ने चलन छ । यसरी भ्यिाउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । यसलाई गौरा पर्वको मौलिकताका रुपमा लिने गरिएको छ ।

यसरी दुई तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलाशयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्नु नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । 

 देशका अन्य भागमा तीज मनाए जस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरुले मनाउने गरेका छन् । उमा महेश्वर सहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले यस वर्ष अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । 

 शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्लपक्षको अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ ।

कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि भने गौरा पर्व मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूर पश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मनाउने गरेका छन् । राजधानीमा पनि सुदूर पश्चिम र  मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व धुमधामका साथ मनाउन थालिएको छ । 

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृतिविद् गायक जोशीले जानकारी दिनुभयो ।  पञ्चमीका दिन बिरुडा भिजाएर सुरु गरिएको गौरा पर्व चार दिनसम्म धुमधामका साथ मनाइन्छ । राजधानीमा पनि गौरासँगै देउडा गायन र नृत्यका साथ सुदूरपश्चिम एवं मध्यपश्चिमवासीले यो पर्व मनाउने गरेका हुन् ।