तुलसीपुुर, भदौ ७ गते । उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नित्यानन्द पाण्डेयले सूचनाको दुरुपयोग भए ठूलो क्षति हुने भएकाले सचेत रहन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

आज यहाँ आयोजित एचआर मिडिया प्रालिको प्रथम वार्षिकोत्सव कार्यक्रममा उहाँले सूचना तथा सञ्चारको भूमिका फराकिलो र शक्तिशाली भएकाले यसलाई सही सदुपयोग गरेमा मुलुकलाई समृद्धिको मार्गमा लैजान सघाउ पुग्ने धारणा राख्नुभयो । “एउटा हतियारको दुरुपयोग भयो भने त्यसले जति क्षति पु¥याउँछ, सूचनाको दुरुपयोगले त्योभन्दा बढी क्षति हुन्छ । त्यसैले सूचनाको सही सदुपयोग गर्नुपर्छ”, मुख्यन्यायाधीश पाण्डेयले भन्नुभयो । सञ्चारमाध्यमले गुण र दोषका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने उहाँको भनाइ थियो ।

तुलसीपुर उपमहानगरपालिका कार्यवाहक प्रमुख भीमबहादुर योगीले सञ्चार क्षेत्र विकासको बाटो देखाउने माध्यम भएकाले समाजलाई सही मार्गमा डो¥याउने गरी सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यस्तै, कपुरकोट गाउँपालिकाका अध्यक्ष प्रकाश भण्डारीले पछिल्लो समय डिजिटल सञ्चारमाध्यमको युग रहेको अवस्थामा मर्यादित पत्रकारिता गर्नतर्फ अनलाइन सञ्चारमाध्यम लाग्नुपर्ने बताउनुभयो ।