काठमाडौँ, भदौ ७ गते । तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा ४३ यात्रु सवार थिए ।

घाइतेलाई लिन नेपाली सेनाको हेलिकप्टर अपराह्न १४ः०५ बजे तनहुँकै ढकालटारस्थित कालीभञ्ज्याङ गणमा अवतरण भएको थियो । दुर्घटनाका घाइते २२ जनालाई उद्धार गरी आबुँखैरेनी अस्पताल लगिएकामा १६ जनालाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो । 

घटनास्थलबाट डोरीका सहायताले १९ जनाको शव सङ्कलन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । गाडी मुनी च्यापिएको अवस्थामा सशस्त्र प्रहरीको गोताखोर टोलीले थप दुई जनाको शव सङ्कलन गरेको थियो ।