बैंकक । थाइल्याण्डको राजधानी बैंकक नजिक एउटा विमान दुर्घटनामा परेको छ । राजधानी बैंककमा रहेको सुवर्णभूमि विमानस्थलबाट उडेको केही समयमै विमान दुर्घटनामा परेको हो । विमानमा सवार सबै यात्रुको निधन भएको अधिकारीहरूले बताएका छन् । विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए ।

विमान थाइल्याण्डको पूर्वमा रहेको ट्राट विमानस्थल जाँदै थियो । उडेको १० मिनेटमै विमानको सम्पर्क टुटेको थियो । थाई फ्लाइङ सर्भिस कम्पनीद्वारा सञ्चालित सेस्ना काराभान सी२०८बी एयरक्राफ्ट फ्लाइट टीफटी २०९ विमानको दिउँसो २ः४६ मा उडेको ११ मिनेटपछि एयर ट्राफिक कन्ट्रोल र राडारसँग सम्पर्क टुटेको थियो।

विमान चाचोएंगसाओको बाङ्ग पाकोङ जिल्लामा रहेको माङग्रोभ जङ्गलमा दुर्घटना भएको थियो । विमान खस्दा नजिकैको घरहरूमा समेत क्षति पुगेको बताइएको छ । दुर्घटना भएको स्थान नजिकैको नदीमा बाढी आएकोले खोजी कार्यमा अवरोध आएको थियो । अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन ।

विमानस्थलबाट अनुमानित ३५ किलोमिटर (२२ माइल) दक्षिणपूर्वमा हुँदा विमानसँग सम्पर्क टुटेको थियो। विमानले बैंककबाट करिब २७५ किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय प्रान्त त्राटका लागि उडान भरेको थियो। उद्धारकर्ताको करिब एक घण्टाको खोजीपछि दुर्घटनाग्रस्त विमान विमानस्थलबाट ४० किलोमिटर पर चाचोएङ्सो प्रान्तको मङ्ग्रोभ दलदलमा फेला परेको थियो।
यस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । विमानका करिब ७० टुक्रा भेटिएको छ । विमानमा ब्ल्याक बक्स थिएन । विमानले हवाई ट्राफिक नियन्त्रणसँग सिधै सम्पर्क गर्थ्यो । एजेन्सी