सामोआ, भदौ ६ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार प्रशान्त क्षेत्रले जलवायु परिवर्तनका कारण चक्रवात, सामुद्रिक गर्मीको लहर तथा बढ्दो समुद्री सतहबाट ‘विनाश’ को सामना गर्नुपरेको बताउनुभएको छ । सामोआको भ्रमणका क्रममा उहाँले प्रशान्त टापुहरूको अवस्था विश्वव्यापी उष्णताको पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्नमा निर्भर रहेको बताउनुभयो ।

सन् २०१५ को पेरिस जलवायु सम्झौतामा करिब दुई सय राष्ट्र उक्त लक्ष्यका लागि प्रयास गर्न सहमत भएका थिए । तर राष्ट्रसङ्घले उक्त लक्ष्यलाई प्राप्त गर्ने बाटोमा हाल विश्व नभएको सङ्केत गरेको छ । “उच्च तथा बढ्दो समुद्री सतहले प्रशान्त र अन्य साना टापु विकासोन्मुख मुलुकहरूका लागि ठूलो खतरा हो र यी चुनौतीले दृढ अन्तर्राष्ट्रिय कार्यको माग गरेको  छ”, गुटेरेसले भन्नुभयो । 

 उहाँले विश्वव्यापी कार्बन उत्सर्जनमा शून्य दशमलव शून्य दुई प्रतिशत मात्र योगदान गर्ने प्रशान्त क्षेत्रले व्यापक रूपमा जलवायु परिवर्तनमा चुनौतीको सामना गर्नुपरेको बताउनुभयो ।  

“समुद्रको सतह विश्वव्यापी रूपमा औसतभन्दा तीव्र गतिमा बढिरहेको छ, यसले लाखौँ प्रशान्त टापुबासीको अस्तित्वमा खतरा सिर्जना गरेको छ”, गुटेरेसले भन्नुभयो, “जनताले कष्ट भोगिरहेका छन्, अर्थतन्त्र ध्वस्त भइरहेको छ र सम्पूर्ण क्षेत्रले विनाशको सामना गर्नुपरिरहेको छ ।”  

उहाँले विकासोन्मुख मुलुकहरूमा जलवायु परिवर्तनको परिणामको लागि भुक्तान गर्ने आफ्नो प्रतिबद्धता पूरा गर्नसमेत आग्रह गर्नुभयो ।  उहाँले प्रशान्त महासागरमा जलवायु परिवर्तन तथा प्लास्टिक प्रदूषणको प्रभावलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कारबाही गर्न पनि आह्वान गर्नुभयो । 

महासचिव गुटेरेसले यस क्षेत्रमा प्रमुख शक्तिहरूको चासो बढ्दै गएको उल्लेख गर्दै चीन, अमेरिका र यसका सहयोगीहरूबीच प्रशान्त क्षेत्रमा प्रभावको वैमनस्यता उत्पन्न भएको सङ्केत गर्नुभयो ।  

“प्रशान्त क्षेत्रलार्ई प्रशान्त टापुबासीले सबैभन्दा राम्रोसँग व्यवस्थापन गर्दछन्, यस क्षेत्रलाई भू–रणनीतिक प्रतिस्पर्धाका लागि कहिल्यै मञ्च बनाउन हुँदैन”, उहाँले भन्नुभयो ।