टोकियो, भदौ ५ गते । अक्टोबर ७ मा हमासले बन्धक बनाएको २५१ जना मध्येकी एक इजरायली युवतीले बुधबार आफू कैदमा रहँदा हरेक रात आफ्नो अन्तिम रात हुन सक्ने सोच्दै सुत्ने गरेको बताएकी छन् । “हरेक रात म सुत्न खोज्दा यो मेरो जीवनको अन्तिम रात हुन सक्ने सोच्दै निदाउँथे ”, नोआ अर्गामानीले जापानमा आफ्नो बुबासँग भेट्दा भन्नुभयो ।

“मेरो उद्धार नहुँदासम्म मलाई म बाच्छु भन्ने विश्वास थिएन”, २६ वर्षीया अर्गामानीले टोकियोमा जी–७ राष्ट्रका वरिष्ठ कूटनीतिज्ञसँगको भेटमा बताउनुभयो । “म तपाईंसँग यहाँ बसिरहेको छु, यो एउटा चमत्कार हो ।”

अर्गामानी इस्लामवादीहरूको अक्टोबर ७ को आक्रमणको समयमा नोभा सङ्गीत महोत्सवबाट हमासद्वारा अपहरण गरिएका मध्ये एक हुनुहुन्थ्यो । त्यस समयमा उहाँले मोटरसाइकलको पछाडिबाट ‘मलाई नमार्नुहोस !’ भनेर चिच्याइरहेको भिडियो भाइरल भएको थियो ।

भिडियोमा उहाँका प्रेमी इन्जिनियर अविनातन ओरलाई छुट्टै लगिएको देखाइएको छ । इजरायली विशेष फौजले जुन ८ मा गाजाको नुसिरात शरणार्थी शिविरमा छापा मार्दा अर्गामानीसहित अन्य तीन जना २२ वर्षीया अल्मोग मीर जान, २७ वर्षीयस आन्द्रे कोज्लोभ र ४१ वर्षीया श्लोमी जिवको उद्धार गरेका थिए ।

इजरायली सेनाले मङ्गलबार दक्षिणी गाजाको सुरुङ्गबाट छ जना बन्धकहरूको शव फेला परेको बताएको छ । त्यस दिन बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजापट्टीभित्र बन्धक बनाइएका छन् । उनीहरूमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जानकारी गराएको छ ।

“मेरा प्रेमी अविनातन अझै पनि बन्धक हुनुहन्छ । धेरै ढिला नगरी उनीहरूको उद्धार गर्न आवश्यक छ । हामीले पहिले नै धेरै मानिस गुमाइसकेका छौँ, अझै गुमाउन चाहँदैनौँ,” अर्गामानीले भन्नुभयो ।