कर्णाली, भदौ ४ गते । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताविना जनताको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ । ‘नवौँ कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८१’ को अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले जनताको सङ्घर्ष र बलिदानबाट मुलुकमा संविधान र सङ्घीयता आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपूर उपयोग हुन जरुरी छ । भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।”

ताल तलैया, हिमश्रृङ्खला, हरिया जङ्गल, महँगा जडीबुटी यार्सा, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक रूपले सम्पन्न कर्णालीलाई गरिबी, अशिक्षा, भोकमरी र अभावको गलत भाष्य दिएर चिनाउनु दुःखद् भएको उहाँको भनाइ थियो । कृषि, प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनमार्फत कर्णालीको आर्थिक समृद्धि गर्न सकिने उहाँको विश्वास छ ।

प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले राजकीय जस्तो नभई जनताको प्रत्यक्ष सहभागितामा प्रदेश स्थापना तथा सहिद दिवस मनाउन सक्ने अवस्था सिर्जना भए सङ्घीयताको अनुभूति हुने जनाउनुभयो । “एक÷दुईको जना होइन, हजारौँ जनताको अथक प्रयासबाट कर्णाली कान्छो प्रदेशका रुपमा स्थापित भएको हो,” उहाँले भन्नुभयो, “जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानलाई इतिहासले कालान्तरसम्म स्मरण गरिरहने छ ।”

मुख्यमन्त्री कँडेलले चार सहिदका परिवारका एक÷एक जना सदस्यलाई रोजागर दिनेगरी प्रदेश सरकारले निर्णय गरेको बताउनुभयो । सबै क्षेत्रमा सुशासन कायम, नागरिकलाई शान्ति, सुरक्षा र अधिकारको उपयोग एवं सुरक्षित गराउन सकिए सहिदको सपना पूरा हुने र जनताको सङ्घर्ष र आन्दोलनले सार्थकता पाउने मुख्यमन्त्री कँडेलको भनाइ थियो ।

सीमाङ्कनको विषयलाई लिएर विसं २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजवारको निधन भएको थियो । 

सहिद तथा प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरूले सोमबार प्रादेशिक सहिद पार्कमा पुगेर सहिदको फोटोमा माल्यार्पण गर्नुभएको थियो । सहिद तथा प्रदेश स्थापनाको खुसियालीमा कर्णालीमा दीपावली पनि गरिएको छ ।

आजकै कार्यक्रममा कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोट स्थायी निवासी अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार राजेन्द्र कार्की, अनलाइन खबरकर्मी यज्ञबहादुर खत्री र कालीकोट निवासी तुलराम पाण्डेलाई जनही रु ५० हजारका दरले प्रदेश सरकारले नगद पुरस्कार प्रदान गरेको छ । 

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा डा डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य १० कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट प्रदेश सरकारले सम्मान गरेको छ । समारोहमा नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्ट, नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णबहादुर जिसी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुँडामणि पौडेललगायतले सहिदको सपना पूरा गर्नका लागि जनस्तरमै जागरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

स्थापना दिवसको अवसरमा सांस्कृतिक नृत्यका साथै ¥याली प्रदर्शनका थियो ।