फाइल तस्वीर
काठमाडौँ, भदौ ४ गते ।
राजधानीमा जारी साफ यू–२० च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिता अन्तर्गत आज समूह ए मा रहेका चिरपरिचित प्रतिद्वन्द्वी श्रीलङ्का र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । समूह ‘ए’ मा रहेका यी दुई टिमबीचको खेल सातदोबाटोस्थित एन्फा मैदानमा आज मङ्गलबार दिउँसो ३ बजे हुने भएको हो ।

समूह ‘ए’ मा रहेका तीन टिम मध्ये आयोजक राष्ट्र नेपालले उद्घाटन खेलमा श्रीलङ्कालाई १–० गोलले पाखा लगाउँदै विजयी सुरुवात गरेको थियो । आजको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराउनसके नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ । त्यसैले आज यी दुई टिमबीचको खेल नेपालको लागि महत्वपूर्ण मानिएको छ ।

श्रीलङ्कालाई हराएको नेपालले ३ अङ्क जोडेको छ । आज हुने खेल श्रीलङ्काको दोस्रो हो भने बङ्गलादेश टिमको पहिलो हो । आजको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई पराजित गरेको खण्डमा सेमिफानलमा आयोजक राष्ट्र नेपाल र बङ्गलादेशबीच हुनेछ । आजको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई हराउन सकेमा भने समूह चरणको खेल रोमाञ्चक बन्ने छ ।

छ टोली सम्मिलित जारी साफ २० च्याम्पियनसिपमा तीन÷तीन टोलीको दुई समूह बनाएर खेलाइएको छ । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘बी’मा रहेको भुटान र भारतबीच हिजो भएको खेलमा भारतले १–० गोलले भुटानी टिमलाई हराएर ३ अङ्क जोडेको छ ।