फाइल तस्वीर
रोम, भदौ ३ गते । इटालीमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना वेपत्ता भएका छन् । सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुङ्गा डुब्न पुगेको थियो । उद्धारकर्मीले बेपत्ता भएका अन्य छ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन् ।

इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबार बिहान ५ः०० बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ ।”

सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमबार एक जनाको शव फेला पारेको र वेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ ।

यद्यपि, सेनाका प्रवक्ताले एएफपीसँग भने, “पानीभित्रको करिब ५० मिटर गहिराइमा भग्नावशेषमा एउटा शव देखिएको तर त्यसलाई अझै पानीबाहिर ल्याउन सकिएको छैन ।”

यसअघि कोस्ट गार्डले चार जना बेलायती, दुई जना अमेरिकी र एक जना क्यानेडियन नागरिक हराइरहेको बताएको थियो । कसको शव फेला परेको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन ।

डुङ्गामा चालक दलका १० सदस्यसहित २२ जना सवार थिए । उद्धार गरिएकामध्ये आठ जनालाई अस्पताल भर्ना गरिएको छ ।

सन् २००८ मा इटालियन जहाज निर्माण कम्पनी पेरिनी नाभीले निर्माण गरेको सुविधासम्पन्न ‘बेयसियन’ डुङ्गा हो । ’बोट इन्टरनेसनल’को वेबसाइटका अनुसार यसमा ११.५१ मिटर लामो मास्ट हुन्छ र यसको गति प्रतिघण्टा १५.५ नटिकल माइलसम्म पुग्न सक्छ ।